नेपाल एयरको जहाजमा चिल ठोक्किदा, जहाजको अगाडिको भाग कुच्चियो

काठमाडौं ४ मङ्सिर – नेपाल एयरको राष्ट्रिय ध्वजावाहक अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाजमा चिल ठोक्किएको छ । चील ठोक्किएपछि “ए ३२०-२००” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ । चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग) मा क्षति पुगे पनि कुनै मानविय क्षति भने भएको छैन ।

भारतको नयाँदिल्लीबाट काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा अवतरण गरेर धावनमार्गमा कुदिरहँदा चिल ठोक्किएको थियो । जहाजमा ठोक्किएको चिल पनि मरेको छ । जहाज अब मर्मत नगरी उड्न सक्दैन ।’

जहाजलाई क्याप्टेन श्रवण रिजालले कमान्ड गरेका थिए भने को–पाइलट भोगेन्द्र कठायत थिए । कलसाइन ‘९एन–एकेएक्स’ र ‘लुम्बिनी’ नाम भएको यो जहाजमा १ सय ३५ यात्रु थिए । यो जहाज निगमले दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको थियो । निगमसँग यही सिरिजको अर्को जहाज पनि छ ।

अहिले चिल ठोक्किएको जहाजमा २०७३ असार २३ गते पनि एउटा चरा ठोक्किएको थियो । त्यसबेला काठमाडौंबाट हङकङ जान धावनमार्गमा कुदिरहँदा एक्कासि जहाजको दायाँ इन्जिनमा चरा ठोक्किएको थियो । उक्त जहाजमा ५६ यात्रु सवार थिए भने चालकदलका आठ सदस्य थिए ।

चरा ठोक्किना साथ चालकले जहाजलाई कुशलतापूर्वक रोकेर पार्किङ क्षेत्रमा ल्याउन सफल भएका कारण ठूलो दुर्घटना टरेको थियो । त्यसबेला जहाजको दायाँ इन्जिनको ‘ब्लेड’ कुच्चिएको थियो । चालकदल र सबै यात्रु सकुशल थिए । त्यसपछि यात्रुलाई अर्को जहाज व्यवस्था गरी हङकङ पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *