नेपाल टेलिकमले धरहरा पुननिर्माण नगर्ने

काठमाडौ ५ असोज – नेपाल टेलिकमले धरहरा निर्माण योजनाबाट हात झिकेपछि पुरातात्विक र ऐतिहासिक स्तम्भ निर्माण अन्यौलमा परेको छ । २०७२ को भूकम्पले ढलेको धरहरा २८ महिना बितिसक्दा पनि अहिले सम्म निर्माणको सुरसार छैन ।

२०७३ असार २९ को मन्त्रिपरिषद् बैठकले धरहरा निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिएको थियो । तर, टेलिकमले निर्माण थाल्नुको साटो सर्तमाथि सर्त राखेर काम अघि बढाउन आनकानी गर्दै आयोे । टेलिकमले व्यावसायिक सर्त राखेर धरहरा निर्माणमा आलटाल गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिखित धारणा मागेको थियो । प्राधिकरणले टेलिकमलाई भदौ २३ गते धरहरा पुनर्निर्माणमा आधिकारिक धारणा पेश गर्न पत्राचार गरेको थियो । पत्रको जवाफमा टेलिकमले ‘पुरातत्व विभागको नक्सा अनुसार धरहरा बनाउँदा दिगो नहुने देखिएपछि धरहरा पुननिर्माणबाट हात झिकेको छ ।

धरहरा पुनर्निर्माणपछि ३० वर्षसम्म व्यवसाय चलाउन पाउनुपर्ने माग टेलिकमको थियो । पुरातत्व विभागले भने धरहरालाई व्यावसायिक प्रयोजनमा ल्याउन नहुने सुझाव दिँदै आएको छ ।

अहिले धरहरा क्षेत्र निजी कम्पनी साइड वाकर्स प्रा. लि.ले ओगटिरहेको छ । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा काठमाडौंका मेयर केशव स्थापितले २०६१ मा बिनाप्रतिस्पर्धा धरहरा चलाउन उक्त कम्पनीलाई ठेक्का दिएका थिए । सो ठेक्का सम्झौतामा साइड वाकर्सले २० वर्षसम्म धरहरा सञ्चालन तथा भत्किएमा बनाउनुपर्ने उल्लेख छ । तर २०७२ फागुन ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पैसाले धरहरा बनाउने घोषणा गरे । त्यसपछि टेलिकमले धरहरा बनाउने इच्छा देखाएपछि मन्त्री परिषद्बाटै धरहराको निर्माण टेलिकमलाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *