पहिलो निर्वाचित प्रतिनिधि सभा सदस्य कमला रोकाको यो यात्रा

रुकुम (पुर्व) २२ मंसिर – २०७२ सालमा जारी नेपालको नयाँ संविधानमा उल्लेख भएअनुसार बनेको देशको कान्छो तथा ७७ औं जिल्ला रुकुम (पूर्व)बाट कमला रोका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतले पछि पार्दै रोका विजयी बनेकी हुन् । रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्तीको पक्षमा ४ हजार ४ सय ६ मत आएको छ । खसेको १८ हजार १ सय १४ मतमध्ये १६ हजार ९ सय २४ मत मात्रै सदर भएको थियो । उक्त जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका ५ जना पुरुषसँगै प्रतिस्पर्धा गरेकी एक्ली रोका विजयी भएकी हुन् ।

२०३२ सालमा साविकको प्वाङ तथा हालको सिस्ने गाउँपालिका–२, मा जन्मेकी रोका माओवादीले सशस्त्र घोषणा गरेकै दिन आक्रमण भएको रुकुम आठविसकोट प्रहरी चौकी आक्रमणकी एउटी सदस्य उनी थिईन् । त्यसपछि उनी २०५३ माओवादीको रुकुम जिल्लाको पहिलो महिला सदस्य भइन् । २०५४ को असार महिनामा उनी केही समय दाङको जेलमा पनि बसेकी थिइन् । २०५५ मा महिला संगठनको जिल्ला अध्यक्ष, २०५७–२०५९ सम्म माओवादीको प्यूठान जिल्ला इञ्चार्ज २०५९ देखि २०६० सम्म रोल्पा र रुकुमका केही भाग मिसाएर बनाइएको विशेष जिल्लाको पार्टी इन्चार्ज भइन् ।

२०६० मा माओवादीले बनाएको ९५ जनाको केन्द्रीय समितिमा पनि उनी सदस्य थिइन् । २०६२ को चुनवाङ बैठकपछि माओवादीको सेनाको ५ औं डिभिजनको दीर्घस्मृति विग्रेड कमिसार बनेर उनी गण्डक अभियानमा लागेकी थिइन् । शान्ति स्थापनापछि मूल राजनीतिमा फर्केकी उनले २०६३ मा अन्तरिम विधायक र २०६४ को संविधानसभा निर्वाचनबाट समानुपातिक सूचीमार्फत सभासद् भएकी उनी युवा तथा खेलकुद मन्त्री समेत भइसकेकी छिन् । उनी हाल माओवादी केन्द्रको सचिवालय सदस्य तथा महिला विभाग इन्चार्ज छिन् । प्रत्यक्षतर्फ उनी पहिलो पटक निर्वाचन लडेर विजयी बनेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *