पोखरा-काठमाडौ रुटमा विश्वस्तरको सुविधा सम्पन्न अत्याधुनिक बस गुड्ने

काठमाडौ ६ असोज- पोखरा-काठमाडौ रुटमा विश्वस्तरको सुविधा सम्पन्न अत्याधुनिक बस गुड्ने भएको छ । नेपालमै पहिलो पल्ट भित्रिएको यो बस भित्र प्रत्यक सिटमा टेली भिजन राखिएको छ । यो बस प्रति गोटा २ करोड रुपैयाँमा खरिद गरिएको संचालकले बताएका छन् । बसको प्रमुख विशेषता भनेको यसको सिट नै हो । लक्जरियस सिट भएकाले चाहेअनुसार बस्न र सुत्नसमेत मिल्ने छ ।

यसअघी दक्षिण एसियाली स्तरको बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले पोखरा-काठमाडौंको रुटमा उक्त अत्याधुनिक विश्वस्तरको सुविधा सम्पन्न बस पोखरा भित्र्याएको हो ।

अमेरीकाको वासिङ्टन डिसी र सिंगापुरबाट मगाइएको यो बसको सिट निर्माण भने दिल्लीमा गरिएको हो । सिटमा डाइनिङ टेबल हुने भएकाले सिटमै बसेर खानासमेत खान मिल्छ ।

बसमा ट्वाइलेट, बाथरुमसहित मोवाइल चार्जसमेत गर्न मिल्छ । हालसम्म सञ्चालनमा रहेका बसहरुमा एउटै मात्र टिभी हुने भएकाले यात्रुको इच्छाअनुसार भन्दा पनि सबैको साझा धारणामा टिभी हेर्नुपर्ने बाध्यता थियो । तर यो बसको हरेक सिटमा टिभी हुने भएकाले यात्रुले आफूले चाहेको टिभी च्यानल हेर्न सक्छन् ।

बसमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जोडिएको हुनाले यात्रुका आफन्तले बस कहाँ पुग्यो भनेर सजिलै थाहा पाउन सक्ने सञ्चालक अधिकारीले बताए । त्यस्तै, बसमा फ्री वाइफाइको सुविधा पनि दिइने भएको छ ।

२१ सिटे यो बसमा यात्रा गर्न नेपालीलाई प्रति व्यक्ति २ हजार २ सय र विदेशीलाई २ हजार ७ सय भाडादर कायम गरिएको अधिकारीले बताए । तोकिएको भाडादर तिरेपछि यात्रुले खाना, खाजा, चिया, कफीलगायतका सबै सुविधा उपभोग गर्न पाउँछ ।

सञ्चालक अधिकारीका अनुसार नेपालीले तिर्ने २ हजार २ सयमा बसको भाडा ६५०, बफेट खानाको ५५०, खाजाको १५०, क्र्यु सर्भिस चार्ज १००, २ वटा मिनरल वाटरको ५०, काउज सिट चार्ज २००, मनोरञ्जन खर्चबापत २५०, चिया, कफि र चकलेट बापतको २०० र रेष्टरुम चार्ज ५० गरेर कुल २,२०० तिर्नुपर्नेछ ।

जसमा यात्रुले थ्रीस्टार होटलमा खाना, ३ पटक चिया, कफि र चकलेट, मनोरञ्जन अन्तर्गत टिभी, पत्रिका तथा इन्तरनेटको सुविधा प्राप्त गर्नेछन् ।

पहिलोपटक बस भित्र्याइएकाले चालकपनि दिल्लीबाट मगाएर चलाउन लागिएको र केहि दिन नेपाली चालकलाई सिकाएर फिर्ता पठाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *