प्रधानमन्त्री सँग इयु राजदूत टीरिन्क र चीनिया चित्रकारद्वारा भेट, चीनिया चित्रकारद्वारा प्रचण्ड–सीको तस्वीर हस्तान्तरण

chinaमंसीर २१ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यूरोपेली यूनियनका राजदूत रिन्चे टीरिन्कले भेट गरेका छन् ।मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टीरिन्कबीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि यूरोपेली यूनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पूनर्निर्माण एवं विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरे ।

भेटमा राजदूत टीरिन्काले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको भन्दै यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिनसक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा यूरोपेली यूनियन विश्वस्त रहेको जानकारी दिए ।

यसैगरी,चीनियाँ चित्रकारको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी चीनियाँ राष्ट्रपति सीजिन पिङ र प्रधानमन्त्री प्रचण्डको फोटो हस्तान्तरण गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी टोलीले प्रधानमन्त्री प्रचण्ड र चीनियाँ राष्ट्रपतिबीच ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा भएको भेटको हस्तनिर्मित तस्वीर हस्तान्तरण गरेको हो । तस्वीर ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले चीनियाँ कलाबाट आफू निकै प्रभावित भएको र यसले नेपाल–चीन सम्बन्धमा हार्दिकता थपेको बताए ।

भेटमा प्रधानमन्त्रीले ‘नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचकै सम्बन्धमा प्रगाढता ल्याउँछ । जनता-जनताबीचको सम्बन्ध विकसित गर्न तपाईहरुको कदम स्वागतयोग्य भनेकाछन् । भेटका अवसरमा चीनियाँ टोलीले बुद्धको जन्मस्थान लुम्बिनी लगायतको नेपालको ऐतिहासिकता समेटेर चलचित्र निर्माणको तयारी भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *