प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काली राष्ट्रपति सिरसेनाबीच भेटबार्ता

असोज ३० गोवा भारत, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच भेटबार्ता भएको छ ।
आइतबार बिहान गोवाको लिला होटलमा भएको भेट बार्तामा दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नेबारे छलफल भएको थियो ।

भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहेपनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनमार्फत् दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने विचार राख्नुभयो ।
भेटमा प्रधानमन्त्रीले सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सार्क राष्ट्रहरुबीच साझा धारणा आवश्यकता रहेको बताउनुभयो ।

भेटमा प्रधानमन्त्रीले लागुऔषधको अभियोगमा श्रीलंकाले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे पूनर्विचार गर्न सिरसेनासँग अनुरोध गर्नुभएको छ । प्रधानमन्त्रीले श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्डको सजाय कटौती गर्न सिरसेनासँग आग्रह गर्नुभएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपालबाट श्रीलंकालाई ट्रान्जिट बनाएर खाडी मुलूकहरुमा नेपाली महिलाहरु लगिने गरिएकोमा उक्त कार्य रोक्नका लागि पनि सिरसेनासँग अनुरोध गर्नुभएको छ ।

भेटमा श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै सार्क सम्मेलन आयोजनाका लागि दुवै देश मिलेर पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालले राखेको चासोंप्रति श्रीलंका सकारात्मक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *