बागी उम्मेदवारी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने एमालेको चेतावनी

काठमाडौ ७ कातिक- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले बागी उम्मेदवारी दिएकाहरुले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको समय भोलिका लागि तोकेको छ । मंसिर १० गते ३२ जिल्लामा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवारी दर्ता गराउने क्रममा केही नेताले बागीमा उम्मेदवारी दर्ता गराएका छन् ।

बागी उम्मेदवारी दिनेहरुलाई पार्टीका शीर्ष नेताहरुले नै टेलिफोन गरेर फकाउने प्रयास गरिरहेका छन् । रामेछाप, दोलखा, हुम्ला, मनाङ, बझाङ, जाजरकोटलगायतका जिल्लामा गठबन्धनमा रहेका दलका नेताहरुले पार्टी नीतिविपरित बागी उम्मेदवारी दिएका छन् ।

जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका शक्ति बस्नेतविरुद्ध एमालेका नेता गोविन्दविक्रम शाहले उम्मेदवारी दिएका छन् । यस्तै रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध लक्ष्मी गुरुङ, प्रदेशसभामा एमालेका शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेल र कैलाश ढुंगेलविरुद्ध माओवादीका मैनकुमार मोक्तानले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै दोलखामा एमालेका उम्मेदवारविरुद्ध एमालेकै नेताले बागी उम्मेदवारी दर्ता गराएका छन् भने हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिमी लामाविरुद्ध छक्कबहादुर लामा र सोनामग्याजेन लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुगुमा गठबन्धनको उम्मेदवारीविरुद्ध माओवादी केन्द्रका नेताले उम्मेदवारी दर्ता गराएका छन् । रुकुम पूर्वमा पनि वाम गठबन्धनकी उम्मेदवार कमला रोकाविरुद्ध तेजेन्द्र खाम मगर र प्रदेश सभाका सदस्यका लागि निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तेजबहादुर ओलीविरुद्ध पूर्णिराज घर्तीको उम्मेदवारी परेको छ ।

पार्टी एकता र वामपन्थी दलहरुबीचको तालमेल गर्दा पार्टीका तर्फबाट दाबेदार रहेका तर उम्मेदवार हुन नपाएकालाई धैर्य र संयमित हुन गठबन्धनमा आबद्ध दलहरुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *