भुकम्प पीडितहरुका लागि पठाएको दाल चामल वितरण गर्नु अगाडी नै आधि कुहिएको

काठमाडौ ३ साउन-विश्व खाद्य कार्यक्रम(डब्लुएफपी) ले ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तर्गत गोरखाको उहिया र सिर्दिवास गाउँमा भुकम्प पीडितहरुका लागि पठाएको दाल चामल लगायतका खाद्य सामाग्रीहरु उपभोक्ताले नपाएपछि भण्डारमै कुहिएर बिग्रिएको पत्ता लागेको छ।

आयोजनाले तोकेको काम सक्दा पनि डब्लुएफपीले खाद्यान्न वितरण नगरेको भन्दै स्थानीय भूकम्प प्रभावितहरु आक्रोशित भएका थिए। ढिला गरी डब्लुएफपीले सोमबार चामल, दाल वितरण सुरू गरेको भएपनि खाद्यान्न कुहिएको फेला परेपछि पूर्वनिर्धारित परिमाण घटाएर थोरै परिमाणमा मात्रै दाल, चामल वितरण गरेको छ। उहियाका स्थानीय वासीका अनुसार भण्डारण केन्द्रमा राखिएको मध्ये आधाभन्दा बढी परिणाममा दाल चामल कुहिएको पाइएको छ।

दुर्गम क्षेत्र भएकाले खच्चडबाट सामान ढुवानी गरिएको र बाटोमा पानीले भिजेको साथै भण्डारण गरिएको ठाउँमा पनि पानीले भिजेपछि दाल, चामल कुहिएको हो। उक्त क्षेत्रमा प्रत्यक घरधुरीलाई १५० केजी चामल र २७ केजी दाल दिनुपर्नेमा कुहिएपछि प्रत्येकलाई ७५ केजी चामल र ९ केजी दाल मात्र वितरण गरिएको छ।

सिर्दिवासको जगतमा पनि सोमबार खाद्यान्न वितरण गर्ने क्रममा कुहिएको दाल, चामल भेटिएको थियो। दालमा ढुसी लागेको, डल्लो परेको र कीरा भेटिएको सिर्दिवासका वडाध्यक्ष रामकुमार गुरूङले बताए। खच्चडबाट ढुवानी गर्दा पानीले भिजाएको खाद्यान्न उचित हेरचाह गरी सुरक्षित भण्डारण गर्न नसक्दा कुहिएको हो। उनले भने, ‘खच्चडबाट ढुवानी गर्दैमा २० बोरा चामल बिग्रिएको थियो। त्यहीमाथि चिसो कोठामा भण्डारण गरिएकाले थप १५ बोरा बिग्रिएछ।’

कुहिएको र राम्रो खाद्यान्न छुट्याएर सद्दे दाल, चामल मात्रै वितरण गरेको गोरेटो गोरखाले जनाएको छ। डब्लुएफपी, गोरेटो गोरखाका कर्मचारी र गाउँका बुद्धिजीवी मिलेर सद्दे दाल, चामल मात्रै बाँडेको स्थानीयले बताए। अपुग खाद्यान्न दोस्रो चरणमा बाँड्ने बताइएको छ। यसअघि लाप्राकमा ठूलो परिमाणमा कुहिएको चामल फेला परेपछि डब्लुएफपीले खाल्डो खनेर चामल नष्ट गरेको यसकाठ्माडौ डटकमले समाचार लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *