भोजपुर प्रतिभा रसिक र इन्फादालाई

काठमाडौँ, १६ पुस – बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूद्वारा एक दशकअघि स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ स्रष्टा गणेश रसिक र युवा स्रष्टा तथा समालोचक पूर्ण इन्फादालाई सन् २०१७ को ‘भोजपुर प्रतिभा सम्मान’ तथा ‘पुरस्कार प्रदान’ गर्ने निर्णय गरेको छ ।

रसिकले साहित्य, कला तथा गीत–सङ्गीत र इन्फादाले कविता तथा समालोचनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत उक्त सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको संस्थाका सचिव काङमाङ नरेश राईले लन्डनबाट जानकारी गराए । संस्थाका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

साहित्य, कला, सङ्गीत तथा खेलकुद विधामा उल्लेखनीय योगदान दिएबापत भोजपुरे प्रतिभालाई दिइने सम्मानबाट यसअघि पूर्णप्रकाश नेपाल ‘यात्री’, परशु प्रधान, कृष्ण जोशी, जिबी लुगुन र मञ्जुल सम्मानित भइसकेका छन् भने पुरस्कार श्रवण मुकारुङ, दिनेश बान्तवा, विप्लव ढकाल, विमल गिरी र मीरा राईले प्राप्त गरिसकेका छन् । सचिव काङमाङका अनुसार सम्मानमा नगद १५ हजार राशिसहित दोसल्ला र ताम्रपत्र तथा पुरस्कारमा नगद ३० हजार राशि र ताम्रपत्र रहेको छ ।

वि.सं. २००४ सालमा भोजपुरको छिनामखुमा जन्मिएका रसिकका ‘जब सिस्नुहरू टेक्दै हिँडेँ’, ‘दश जगाजमा उभिएर’ संस्मरण र ‘क्षितिजलाई छुन खोज्दा’, ‘एउटा सारङ्गीभित्र’, कथा संग्रह, ‘आकाशगंगाको ओतमुनि’ उपन्यास र ‘रसिकका गीत’ गीत संग्रह प्रकाशित छन् । उनले सयौँ गीतमा सङ्गीत सिर्जना गर्नुका साथै आफँै स्वर दिएका छन् । रसिक हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव छन् ।

यसै गरी भोजपुरको याकुमा वि.सं. २०२८ सालमा जन्मिएका इन्फादाका ‘मौन कम्पनहरू’ र ‘अभिलेख अवशेषहरू’ नामक दुई कविता संग्रह प्रकाशित छन् ।

सम्मान तथा पुरस्कार फागुनको दोस्रो साता राजधानीमा एक समारोहको आयोजना गरी प्रदान गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *