मनलाई शुद्धिकरण गर्दै अरुको लागि जिउनुको मज्जा बेग्लै : कुञ्जना घिमिरे

काठमाडौं, १२ बैशाख । भुकम्पपछिको पूर्ननिर्माणमा एकीकृत नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै भुकम्पपीडित तथा सहयोगी समाजले सिताराम कट्टेल र कुञ्जना घिमिरे(धुर्मुस–सुन्तलीलाई) अभिनन्दन गरेको छ ।

मंगलबार समाजले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको गोरखा महाभुकम्पको दोस्रो वार्षिकीको अवस्थामा धुर्मुस–सुन्तलीलाई क्लबका सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि ऋषि धमलाले अभिनन्दन गरेका हुन् ।

समाजका अध्यक्ष चन्द्र साउदको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा बोल्दै क्लबका सभापति धमलाले भने,‘समाजसेवामा आवद्धता भएकाहरुलाई धुर्मुस–सुन्तली ठूलो आस्थाको केन्द्र हुनुहुन्छ, उहाँहरुको यो जोडीबाट सबै नेपालीहरुले सिक्नुपर्छ, काम गर्नलाई मन भए पुग्छ, उहाँहरुसँग पनि धन थिएन, तर मन ठूलो र चौडा भएपछि आज उहाँहरुले सरकारले गर्न नसकेको काम गरेर चमत्कारीता देखाउनुभएको छ।’

उनले धुर्मुस–सुन्तलीमा अत्यन्तै सरलता, दृढ ईच्छाशक्ति र सहयोगी मन रहेको बताउँदै भने,‘हाम्रो देशमा नेताहरुले बोलेको कुरा पुरा भएको छैन, तर उहाँहरु (धुर्मुस–सुन्तली) ले बोलेको र प्रतिज्ञा गरेका वाचाहरु सबै पूरा भएका छन्, मन भएपछि धन जतिपनि आउँदोरहेछ भन्ने कुरा प्रमाणित गरेर देखाउनुभएको छ।’ धमलाले धुर्मुस–सुन्तलीलाई राज्यले खुला हृदयले सहयोग गर्नुपर्ने धारणा राखे ।

राज्यले धुर्मुस र सुन्तलीलाई पूर्ननिर्माण सद्भावना दुत बनाएरमात्रै न्याय नहुने भन्दै अझै ठूलो जिम्मेवारी दिनुपर्ने धमलाको भनाई थियो । उनले भने,‘उहाँहरुसँग भिजन छ, म धेरै त भन्दिन् तर ५ वर्षभित्रमा उहाँहरुले पूर्ननिर्माण गर्न सक्नुहुन्छ, यो देशलाई समृद्ध बनाउने उहाँहरुको योजना छ, यो योजना र सपनाहरुलाई हामी सबैको साथ, सहयोग र निरन्तरता रह्यो भने सफलताले शिखर चुम्छ, रिपोर्टर्स क्लब सँधैभरि यहाँहरुको साथमा रहने प्रण गर्दछ।’

कार्यक्रममा अभिनन्दित भएपछि आफ्नो भनाई राख्दै सिताराम कट्टेल(धुर्मुस)ले महाभुकम्प गएको दुई वर्ष वितिसक्दापनि भुकम्प प्रभावित जिल्लाहरुको पूननिर्माण सम्पन्न नभएकोप्रति दुःख व्यक्त गरे । उनले भने,‘पूर्ननिर्माणको लागि ठूला–ठूला विदेशी सहायता आएका थिए, तर सरकारले पूर्ननिर्माणको काममा गति लिन सकेन, अब फेरि अर्को विपद आउँदा विदेशी सहायता नआउन पनि सक्छ, यतातिर हामी सबै गम्भिर बन्नुपर्छ ।’

विनाशले विकासको मुल फुटाउँछ भनेजस्तै नेपालमा पनि महाभुकम्पलाई अवसरमा परिणत गर्न सक्नुपर्दथ्यो भन्दै यो मामिलामा सरकार चुकेको हो कि भन्ने धारणा उनको थियो । उनले भने,‘हामीले भारतको गुजरात देखेका थियौं, आज गुजरात विश्ककै पर्यटकीय गन्तव्य बनेको छ, हाम्रो देश त प्राकृतिक सौन्दर्यले पनि त्यतिकै धनी छ, सरकारले पूर्ननिर्माणको लागि दरिलो नीति ल्याउनुपर्दथ्यो ।’

उनले पूर्ननिर्माणको लागि बनेको राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत बढि राजनीतिकरण भएको भन्दै गुनासो पोखे । उनले भने,‘कहिले सिईओ परिवर्तन गर्ने काम भए, पीडितको नाममा राजनीति हुनुहुँदैन्थ्यो ।’ पूर्ननिर्माणको लागि प्राधिकरणलाई विभिन्न मन्त्रालयहरुसँग समन्वय गर्नुपर्ने झन्झट रहेकोले सरकारले पूर्ननिर्माण मन्त्रालय छुट्टै गठन गरेर काम गर्न सक्नुपर्नेथियो भन्दै स्मरण गराए । उनले थपे,‘प्राधिकरणलाईपनि त्यही मन्त्रालय अन्र्तगर्त चलाएको भएपनि भैहाल्थ्यो।’

धुर्मुसले आफूहरुको अभियानपनि सरकारलाई सहयोग गर्ने रहेको बताए । उनले भने,‘पूर्ननिर्माणको लागि रकेटको स्पिडमा काम गरेका छौं, जे बोल्छौं, त्यो पूरा गरेरमात्रै छोडछौं ।’ आफूहरुलाई पनि शुरुवातमा चर्चाको लागि धुर्मुस सुन्तलीले यस्तो काम गर्न लागेको हो कि भनेर कुरा बाहिर आएपनि कहिल्यै नहारिकन अभियानमा जुटेको स्मरण सुनाए ।

उनले पार्टीको झण्डाभन्दापनि देशको झण्डा ठूलो भएकोले पीडितको नाममा कसैलेपनि राजनीति गर्न नहुने धारणा राखे । उनले सगरमाथा र गौतम बुद्धको कारण नेपालमा पर्यटक आउने गरेको उल्लेख गर्दै पूर्ननिर्माणको लहर देशैभरि ल्याउन सकेको भए सुन्दर÷सुन्दर नयाँ संरचना हेर्न पर्यटकहरु आउने थिए भन्दै यतातर्फ कसैको ध्यान नगएको हो कि भन्दै चिन्ता व्यक्त गरे । उनले अहिलेपनि आफूहरुलाई जिम्मा दिए एकवर्षदेखि डेढवर्षभित्रमा भुकम्प प्रभावित सबै जिल्लामा पूर्ननिर्माण गरेर देखाउने विश्वास व्यक्त गरे ।

नेपालमा अर्काको कुरा काट्ने मानिसहरु धेरै भएको उल्लेख गर्दै भने,‘कुरा काट्नुपर्यो भने हामी आफ्नै श्रीमतिको कुरा काट्नपनि पछि पर्दैनौं, त्यतिमात्रै होईन, हामी नेपाली पशुको पनि कुरा काट्न छोड्दैनौं ।’ उनले आफूहरुलाई पनि भुकम्पले सिकाएको भन्दै आगामी दिनमा पनि धेरै कामहरु गर्ने सपना रहेकोले केही समयपछि एउटा अभियानको घोषणा गर्ने जानकारी दिए । राष्ट्र निर्माणमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भन्दै त्यतातिर ध्यानदिन धुर्मुसले अपिल गरे ।

त्यस्तै कार्यक्रममा सम्मानित भएकी कुञ्जना घिमिरलेपनि डरलाई शक्तिमा परिणत गरेर मनलाई शुद्धिकरण गर्दै अरुको लागि जिउनुको मज्जा नै अर्के हुने भन्दै आफूहरुले पनि सहयोगी मनहरुलाई संकलन गरेर पूर्ननिर्माणको काममा जुटेको बताईन् ।

उनले नेपालमा राष्ट्र र राष्ट्रियता आजकै दिन अर्थात बैशाख १२ गतेले ल्याएको बताउँदै अर्काको दुःखमा मल्हम लगाउने काममा जुट्न आग्रह गरिन् । उनले भनिन्,‘अर्काको दुःखमा मल्हम लगाएर आनन्द लिने बानी धुर्मुस–सुन्तलीलाई परिसकेको छ, यो भन्दा अर्को मिठो आनन्द केही पनि छैन् ।’ सम्मानित हुन पाएकोमा निकै गौरवान्तित महशुस भएको भन्दै यसले थप उर्जा र नयाँ चूनौति थपिएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *