मन्त्री खड्काको दाबी : काँग्रेस पहिलो पार्टी हुन्छ, काँग्रेस–माओवादी गठबन्धन अझै चार वर्ष जान्छ

काठमाडौ., २ जेठ । गृहराज्यमन्त्री दिपक खड्काले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस नै पहिलो पार्टी हुने दाबी गरेका छन् । उनले भने,‘हामी ढुक्क छौं, हाम्रो पार्टी नै पहिलो पार्टी हुन्छ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खड्काले मतपरिणाम आउने क्रम जारी अवस्थामा प्रारम्भिक नतिजाले नै काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका हुन् । उनले भने,‘अहिले ३८ प्रतिशत देशको भुभागमा चुनाव भएको छ, अझै ६२ प्रतिशत भुभागमा चुनाव हुन बाँकी छ, हामी पहिलो चरणको निर्वाचनमा पनि पहिलो बन्छ ’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खड्काले काँग्रेस देश र जनताप्रति जिम्मेवार पार्टी भएकोले यो चुनावमा जनता र व्यवस्थाले जित्नुपर्ने बताए । उनले भने,‘काँग्रेस जिम्मेवार पार्टी हो, हामी व्यवस्था र जनताले जित्नुपर्छ भन्छौं।’ उनले जनताले जितेमात्रै काँग्रेसको र व्यवस्थाको नै जित हुने स्पष्ट पारे । मन्त्री खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले बोलेको कुरा पूरा गरेको भन्दै प्रंशसाका साथै बधाई दिए ।

मन्त्री खड्काले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनलाई लिएर विभिन्न टिकाटिप्पणी भएकोप्रति स्पष्ट पार्दै भने,‘यो गठबन्धन संविधान रक्षाको लागि हो, व्यवस्था रक्षा गर्नको लागि हो।’ उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि संविधानको वाहक भएको बताउँदै एमालेले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको माँग गर्ने राप्रपासँग तालमेल गरेको चाहीँ बरु आफूहरुलाई शंका लागेको बताए । उनले भने,‘एमालेले राप्रपासँग तालमेल गर्न पाउँछ, प्रजातन्त्रको व्यूटी नै अलाईनमेन्टपनि हो, तर यो तालमेलमा हामीलाई शंका छ।’ राजनीतिक दलहरुवीच तालमेल हुनु, गठबन्धन हुनु स्वभाविक भएपनि राप्रपासँगको एमालेको तालमेलले कहीँ लोकतन्त्रै नै खतरामा पर्ने होईन भन्ने आफूहरुलाई शंका रहेको मन्त्री खड्काले स्पष्ट पारे ।

यद्धपी उनले काँग्रेस र माओवादी केन्द्रवीचको गठबन्धन विभिन्न संघर्ष र आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नको लागि अपरिहार्य रहेको जिकिर गरे । उनले भने,‘नेपाली काँग्रेस नेपालको प्रजातान्त्रिक आन्दोलनमा लडेको पहिलो शक्ति हो, ०७ सालदेखि काँग्रेसले नै परिवर्तनको लागि लडाई लड्यो, विभिन्न आन्दोलनको नेतृत्व लियो, माओवादीले पनि परिवर्तनको लागि नेतृत्व लिएको छ।’ उनले काँग्रेस र माओवादी केन्द्रवीचको तालमेल निकै लामो समयसम्म जाने विश्वास व्यक्त गर्दै आफूहरुले पनि नेतृत्वलाई यही दबाब दिएको स्पष्ट पारे ।

मन्त्री खड्काले दोस्रो चरणको निर्वाचनमा मधेशी मोर्चालेपनि सहभागिता लिने विश्वास व्यक्त गरे । यही जेठ ४ गते संसद बैठक बस्ने भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यही दिन बेलुका राजिनामा गर्ने र सत्ता देउवालाई हस्तान्तरण गर्ने पनि मन्त्री खड्काले जानकारी दिए । उनले काँग्रेस सभापति देउवा दुई तिहाई बहुमतसहित प्रधानमन्त्री बन्ने निश्चित भएकोले संविधान संशोधन दुई तिहाईले पारित हुने विश्वास व्यक्त गरे । उनले भने,‘यसबारेमा अहिले काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु बसेर छलफल गरिरहनुभएको छ।’

खड्काले मुलुकको आर्थिक सम्मुनतिको लागि पनि काँग्रेस र माओवादी केन्द्रवीचको तालमेल अलिक लामै समयसम्म जाने स्पष्ट पारे । उनले थपे,‘अन्य पार्टीहरुसँग पनि हामी हातेमालेो गरेर अघि बढ्छौं।’ मन्त्री खड्काले जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने समेत स्पष्ट पारे । यद्धपी उनले बजेट नियमित प्रक्रिया भएकोले बजेट के गर्ने भन्नेबारे सहमतिमा निर्णय लिईने तर तोकिएकै मितिमा दोस्रो चरणको निर्वाचन हुने विश्वास दिलाए ।

एमालेले ६० प्रतिशत स्थानमा जित्ने दाबी पुष्टि भयो : सचिव भट्टराई
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६० प्रशित स्थानमा जित्ने दाबी गरे । उनले भने,‘निर्वाचन परिणाम हेर्दा एमालेले ६० प्रशित स्थानमा विजयी हुन्छ, मैले निर्वाचन हुनुभन्दा २० दिनअघि यही रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा यो दाबी गरेको थिएँ, अहिले दाबी पुष्टि भयो ।’
भट्टराईले दोस्रो चरणको निर्वाचन सम्पन्न हुन बाँकी रहेको बताउँदै नेपाली जनताहरुले एमालेप्रति आम नागरिकहरुले विश्वास लिएको बताए । उनले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएकोले पहिलो चरणको निर्वाचनले लोकतान्त्रिक व्यवस्थालाई वैद्यता प्राप्त भएको स्पष्ट पारे । उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै संविधानसभाबाट जारी भएको संविधान जनताबाट अनुमोदित भएको समेत दाबी गरे ।

उनले भने,‘हाम्रो संविधान÷लोकतन्त्र जनताको घरदैलोमा पुगेको छ, निर्वाचनले यस्तो वातावरण बनाएको छ ।’ उनले चुनावी तालमेल वा समिकरणलाई नौलो रुपमा कसैले पनि हेर्न नहुने जिकिर गरे । यद्धपी उनले निर्वाचनको मुखैमा आएर वा निर्वाचन प्रक्रिया सुरु भएपछि तालमेलको घोषणा गर्नु वा गर्नु चाहीँ अशोभनीय भएको टिप्पणी गरे । भट्टराईले काँग्रेस र माओवादी केन्द्रवीच भएको चुनावी तालमेललाई लक्षित गर्दै भने,‘काँग्रेसले पहिलोपटक चुनावी तालमेल गरेको छ, यसको मतलव काँग्रेस ईतिहाँसमै कमजोर भएको छ, आफ्नो साखः जोगाउन काँग्रेसले सहयोगको याचना गर्यो ।’ उनले काँग्रेस–माओवादी केन्द्रवीचको तालमेललाई निजी स्वार्थको लागि गरिएको आरोप लगाए।

त्यस्तै उनले जनताले आफ्नो पार्टीलाई बहुमतको सरकार चलाएको हेर्न मन भएको तर्क गर्दै भने,‘नेपाली जनता यतिवेला हाम्रो पार्टीलाई बहुमतमा पुर्याउनको लागि व्यग्र प्रतिक्षमा छन्, नेपालमा काँग्रेसलाई जनताले पटक पटक बहुमत दिएका हुन्, तर काँग्रेसले देश र जनताको लागि केही पनि गर्न सकेन ।’

सचिव भट्टराईले निर्वाचन बजेट अघि नै गर्नुपर्ने भन्दै आफ्नो पार्टीले पटक–पटक ध्यानाकार्षण गराएको उल्लेख गर्दै अहिलेपनि जेठ १५ गते अघि नै दोस्रो चरणको निर्वाचन गर्नुपर्ने बताए । उनले प्रश्न गरे,‘कसको लागि कुर्ने हो ? किन पर्खने ?’
मधेशी मोर्चाकै प्रमुख घटक उपेन्द्र यादवले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आफू जन्मिएको माटोले चुनावमा जा भन्यो त्यही भएर निर्वाचनमा भाग लिएको भनेर दिएको अभिव्यक्ति अत्यन्तै सान्र्दभिक भएको समेत उनले बताए । उनले भने,‘एउटै माँग राखेर हिँडेका उपेन्द्र चुनावमा जाने तर महन्थ ठाकुरजी चाहीँ किन नजाने ?’

त्यस्तै उनले सरकारले यही जेठ ४ गते बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पारित गराउने भन्ने कुरा सुनिएपनि कुनै पनि हालतमा संशोधन पारित नहुने दाबी गरे । उनले पहिलो चरणको निर्वाचनको मतगणना अत्यन्तै ढिला भएको भन्दै असन्तुष्टि जनाए । उनले भने,‘देशभरि नै एकै चरणमा निर्वाचन गर्न सक्ने जनशक्ति भएको निर्वाचन आयोगले किन मतगणना ढिलाई गर्नुपर्यो, भएको जनशक्ति खटाउनुहोस् ।’ उनले अर्को दुई दिनभित्रै सम्पूर्ण निर्वाचनको मतपरिणाम घोषणा हुनुपर्ने जिकिर गरे ।

‘दुई दिनभित्रै सम्पूर्ण परिणाम आउनुपर्छ’ माओवादीले पहिलेको भन्दा धेरै राम्रो जित हाँसिल गर्छ : शर्मा
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता दिनानाथ शर्माले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा संविधानसभाको दोस्रो निर्वाचनभन्दा राम्रो नतिजा ल्याउने स्पष्ट पारे । उनले भने,‘हामी यति प्रशित वा उति प्रतिशत जित्छौं भन्दैनौं तर हामी दोस्रो संविधानसभाको निर्वाचनभन्दा राम्रो हुन्छ।’

उनले यो स्थानीय तहको निर्वाचनमा पनि काँग्रेसले पहिलो स्थान हाँसिल गर्ने विश्वास व्यक्त गरे । शर्माले थपे,‘चुनावको प्रारम्भिक मतपरिणामको रुझान हेर्दा काँग्रेस नै पहिलो हुन्छ, त्यस्तै एमाले दोस्रो र हामी तेस्रो हुन्छौं ।’

नेता शर्माले पार्टी हारेपनि स्थानीयत तहको निर्वाचन गराउनु नै ठूलो उपलब्धि भएको उल्लेख गर्दै निर्वाचनको परिणाम आफूहरुकोलागि स्विकार्य भएको बताए । उनले निर्वाचनको तालमेललाई लिएर बाहिर जे जस्ता टिप्पणी भएपनि यो अनुकुलतालाई हेरेर गरेको स्पष्ट पारे । उनले काँग्रेस र माओवादी केन्द्रको तालमेल त झनै आवश्यक रहेको तर्क गरे । शर्माले भने,‘०७ सालको क्रान्तिको नेतृत्व काँग्रेसले गर्यो, ३६ साल, ०४६ सालको जनआन्दोलनको नेतृत्व काँग्रेसले गर्यो, हामीले गणतन्त्रको लागि संघर्ष गर्यौं ।’

उनले काँग्रेसले प्रजातन्त्रको लागि माओवादीले गणतन्त्रको लागि नेतृत्वदायी भूमिका खलेको बताउँदै भने,‘तर एमालेको नेतृत्वदायी भूमिका कहाँ छ ? उसको भूमिका भनेको सहयोगीमात्रै हो।’ शर्माले काँग्रेस र माओवादी केन्द्रको तालमेललाई ईतिहाँसको आवश्यकत्ताको संज्ञा समेत दिए । उनले भने,‘हामी दुइ पार्टीहरुको गठबन्धनले गर्दा प्रतिगमनको खतरा कम भएको छ, लोकतन्त्रलाई संस्थागत गर्न सकिएको छ।’

उनले सहमति अनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारे । उनले भने,‘हामी सहमतिबाट एक ईन्च पनि दायाँबायाँ हुँदैनौं, आज, भोलि वा पर्सिसम्म सत्ता हस्तान्तरण हुन्छ।’

उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा भाग लिन्न भन्नु पाखण्डपन हो : झा
राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता अनिल झाले मोर्चाले उठाएका माँगहरु पूरा भए दोस्रो चरणको निर्वाचनमा आफूहरु सहभागी हुने बताए । यद्धपी उनले यसको लागि सरकारले चार वटा माँगहरु पूरा गर्नुपर्ने बताए ।

उनका अनुसार संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने, बन्दी रिहाई, मुद्दा फिर्ता गर्नुपर्ने र स्थानीय तहको संख्या वृद्धि गर्नुपर्ने रहेका छन्। उनले भने,‘हामी दोस्रो चरणको निर्वाचनमा भाग लिन आँतुर छौं, तर माँगहरु सम्बोधन हुनुपर्छ।’

दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन पारित नभए निर्वाचन नजाने भनेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नुभएको छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा झाले भने,‘पहिलो चरणको निर्वाचनमा भाग लिने अनि दोस्रो चरणमा यो नभए जान्न भन्नु कत्तिको सुहाउँछ र ?’ उनले उपेन्द्र यादवले संशोधन प्रस्ताव पारित नभए दोस्रो चरणको निर्वाचनमा भाग लिन्न भन्नु पाखण्डपन भएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *