मुक्तियोद्धा स्व. इन्द्रप्रसाद श्रेष्ठको योगदानको स्मरण

काठमाडौँ – मुक्तियोद्धा स्व इन्द्रप्रसाद श्रेष्ठको ४५ औँ दिनको पुण्यतिथीका अवसरमा सोमबार यहाँ आयोजित श्रद्धाञ्जलि सभामा स्व श्रेष्ठले २००७ सालको क्रान्तिमा भोजपुरबाट मुक्तियुद्धमा पुर्याएका योगदानको स्मरण गरियो ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार परशु प्रधानले प्रजातन्त्र सेनानी स्व श्रेष्ठले समाजसेवी तथा शिक्षासेवीका रुपमा दिएका योगदान नेपाल र नेपालीले भुल्नु नहुने बताए ।

भोजपुरे सेवा समाजका परिषद अध्यक्ष दयाकृष्ण न्यौपानेले प्रजातन्त्र प्राप्तिको आन्दोलनका साथै भोजपुरमा शिक्षा क्षेत्रको विकासका लागि स्व श्रेष्ठले भोजपुुर मात्र नभएर देशलाई नै गुन लगाएका बताए ।

उनले स्व श्रेष्ठले सातसालका क्रान्तियोद्धा रामप्रसाद राई र नारदमुनि थुलुंगसँगै क्रान्तिमा सहयोग पु¥याउनु भएको उल्लेख गरे ।

भोजपुरे सेवा समाजका सल्लाहकार केदार न्यौपानेले रामप्रसाद राई तथा नारदमुनि थुलुंगसँगै प्रजातन्त्रका लागि लड्नुभएका स्व श्रेष्ठ महत्वाकाँक्षी नभई निष्काम कर्मप्रति समर्पित र कर्तव्यप्रति अविचलित हुनुहुन्थ्यो भने ।

कृषि विकास बैंकका पूर्व उपमहाप्रबन्धक भविन्द्र खत्रीले प्रजातन्त्रका लागि मार्ग्चित्र प्रस्तुत गर्ने उनीहरु जस्ता प्रजातन्त्र सेनानीकै प्रेरणाले युवाहरु प्रजातन्त्रका लागि होमिएका बताए ।

कार्यक्रमका सभापति तथा भोजपुरे सेवा समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाले श्रेष्ठजस्ता ऐतिहासिक व्यक्तित्वलाई गुमाउनुपरेकोमा दुःख व्यक्त गर्दै उनीजस्ता योद्वाको सहयोग नरहेको भए २००७ सालको क्रान्ति कठिन हुने विचार व्यक्त गरे ।

शेर्पाले स्व श्रेष्ठले भोजपुरमा विद्योदय हाईस्कूल स्थापनालगायत कार्यमा योगदान गर्नुभएको जानकारी दिँदै उनको नाममा प्रतिष्ठानको आवश्यकता रहेको पनि औंल्याए । उनले मुलुकका लागि लडेकाले उनको इतिहास जीवन्त राख्नुपर्ने बताए ।

विसं १९८३ वैशाख ३ गते जन्म भई गत मंसिर ३ गते निधन हुनुभएका स्व श्रेष्ठले २००७ सालको क्रान्तिमा भोजपुर मुक्ति आन्दोलनमार्फत योगदान पुर्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *