यी नेताहरुले आफूले आफैलाई भोट दिन पाएनन्

काठमाडौ- आफ्नो मतदाता नामावली रहेको क्षेत्रभन्दा अन्य क्षेत्रबाट उम्मेदवारी दिएका कारण विभिन्न दलका केही नेताहरुले आफूलाई नै मतदान गर्न पाएनन् ।

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका ओलीको मतदाता नामावली भक्तपुरमा भएको कारण पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मतदान गर्न पाएनन् ।

त्यस्तै काठमाडौं क्षेत्र नं २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूलाई मतदान गर्न पाएनन् । नेपालको नामावली रौतहटबाट छ ।

दाङ क्षेत्र नं २ का उम्मेदवार एवं माओवादी नेता कृष्णबहादुर महरा, सोही क्षेत्रको प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार एमाले नेता शंकर पोखरेलले पनि आफूलाई मत दिन पाएनन् । महराको रोल्पामा मतदाता नामावली छ भने एमाले नेता पोखरलेको दाङ क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ मा मतदाता नामावली छ । त्यस्तै सल्यानबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार एमाले नेता प्रकाश ज्वालाले पनि आफूलाई मत दिन पाएका छैनन् । ज्वालाको नामावली सल्यानको प्रदेशसभा ‘क’ मा छ ।

काठमाडौंमा मतदाता नामावली भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला नवलपरासी क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि उम्मेदवार छन् ।
काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवार दिएका कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले पनि आफूलाई मतदान गर्न पाएनन् । सिंहले काठमाडौं क्षेत्र नं ७ बाट मतदान गरेका छन् भने मिश्रले ललितपुरबाट मतदान गरे ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा क्षेत्र नं ३ का उम्मेदवार भएपनि उनको नामावली झापाकै क्षेत्र नं १ मा छ । अर्थमन्त्री एवम् कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार डा. प्रकाशशरण महत, कैलाली क्षेत्र नं ५ की उम्मेदवार डा. आरजु राणा देउवा, भक्तपुर क्षेत्र नं २ का उम्मेदवार दमननाथ ढुंगानाले पनि आफूलाई मतदान गर्न पाएनन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं १० बाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी नेता हितमान शाक्य, क्षेत्र नं १ का उम्मेदवार अनिलकुमार शर्मा, क्षेत्र नं ६ का उम्म्मेदवार झक्कुप्रसाद सुवेदीले पनि आफैंलाई मतदान गर्न पाएनन् ।

त्यस्तै संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादव, राजपा नेता राजेन्द्र महतो, माओवादी नेता राम कार्की पनि आफूलाई मतदान गर्न नपाउनेको सूचीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *