रामचन्द्र झाको चौथो र रामकुमार शर्माको यो नवौं पटक पार्टी परिवर्तन

काठमाडौ ४ भदौ-नयाँ शक्तिका नेता रामचन्द्र झा दोस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेको छ। झासँगै मधेशका अर्का रामकुमार शर्मा पनि माओवादीमा तेस्रो पटक प्रवेश गरेका छन्। पार्टी प्रवेशका हिसावले रामकुमार शर्माको यो नवौं पटक पार्टी परिवर्तन हो भने झाले अहिले माओवादी प्रवेश गरेर चौथो पटक पार्टी परिवर्तन गरेका हुन् ।

झा २०६९ चैत्र २४ मा एमालेबाट तत्कालिन एनेकपा (एमाओवादी) मा प्रवेश गरेका थिए। एमाओवादीमा झालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरेका थिए।

तर उनी एमाओवादीमा तीन वर्षपनि टिक्न सकेनन्। बाबुराम भट्टराईको एमाओवादी पार्टी परित्यागअघि नै झाले एमाओवादी परित्याग गरेका थिए, पछि उनले भट्टराईलाई साथ दिएका हुन्।

झाको भन्दा शर्माको माओवादी प्रवेशको कथा झन् रोचक छ।खोटाङमा फरेष्टर रहँदा एमाले निकट झा जनयुद्धको प्रभाव विस्तारसँगै माओवादीमा सरिक भएका थिए।

माओवादी परित्याग गरेका जयकृष्ण गोइतले ०६१ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि शर्मापनि त्यही मोर्चामा प्रवेश गरे। तर त्यहाँपनि लामो समय टिक्न सकेनन्। छिट्टै उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश गरे र त्यसको महासचिव भए।

पहिलो मधेश आन्दोलन सम्झौतामा टुङ्गिएपछि फोरम विभाजित भयो। उपाध्यक्ष भाग्यनाथ गुप्ता, किशोरकुमार विश्वास, जीतेन्द्र सोनल लगायतका नेताहरुले गुप्ताको नेतृत्वमा छुट्टै फोरम निर्माण गरे। शर्मा फेरि गुप्ता समूहतिर लागे र त्यो समूहको पनि महासचिव बने।

तर त्यहाँपनि लामो समय रहेनन्। महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन भएपछि उनी त्यो पार्टीमा प्रवेश गरे। पहिलो संविधानसभा निर्वाचनमा शर्मा महोत्तरी ४ बाट निर्वाचित भएका थिए।

तर तमलोपामा पनि उनी लामो समय टिक्न सकेनन्। उनले २०६६ साउन २३ मा तमलोपा परित्याग गरे र, एमाओवादीमा प्रवेश गरे। त्यो उनको दोस्रो पटक माओवादी प्रवेश थियो। टिकट पाएर निर्वाचित भएको पार्टी परित्याग गरेका कारण २०६७ मा उनले संविधानसभा सदस्य परित्याग गर्नुपर्यो, उनले संविधानसभाबाट राजिनामा दिए।

दोस्रो संविधानसभाबाट जारी भएको संविधानप्रति झा, शर्मा लगायत एमाओवादीमा रहेका मधेशी नेताहरुको समूह सन्तुष्ट हुन सकेन। संविधान जारी हुनै लाग्दा मधेशी नेताहरुको ठूलो समूह एमाओवादीबाट बाहिरियो, झाको नेतृत्वमा। नेतृत्व झाले गरेपनि असन्तुष्ट समूहको अगुवाई भने शर्माले गरेका थिए, जो त्यतिबेलासम्म एमाओवादी सम्बद्ध मधेशी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्षको जिम्मेवारीमा थिए।

संविधानसभाबाट संविधान जारी भएपछि बाबुराम भट्टराईले एमाओवादी परित्याग गर्नुको एउटा कारण झा र शर्मापनि थिए। एमाओवादी परित्याग गरी नयाँ दल गठन गरे साथ दिने झा र शर्माहरुको वचनपछि भट्टराई अकस्मात पार्टी परित्यागको निर्णयमा पुगेका थिए। उनीहरुले नयाँ शक्ति गठनमा भट्टराईलाई साथ दिए, तर भट्टराईले पनि लामो समय उनीहरूको साथ पाउन सकेनन्।

नयाँ शक्ति परित्याग गरेका रामद्वय आइतबार उहि आफ्नो पुरानै पार्टी माओवादीमा फर्किएका छन्। यो समाचार हामीले नेपाल खबरबाट लिएका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *