रासनमा घोटाला गरेको भन्दै म्यादी प्रहरी आन्दोलनमा

दोलखा, ४ पुस – म्यादी प्रहरीले दोलखा जिल्ला प्रहरी नेतृत्वविरुद्ध आन्दोलन गरेकाछन् । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा भर्ना गरिएका म्यादी प्रहरीले ड्युटी गरेको अवधीमा खाएको खानामा घोटाला भएको भन्दै सोमबार दिनभर दोलखामा कार्यरत म्यादी प्रहरीले आन्दोलन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाले गत कार्तिक १२ गते भर्ना लिएका म्यादी प्रहरीको दैनिक रासनमा चलिआएको मुल्य भन्दा ३५ रुपैंया बढी रकम कटाएको थाहा पाएपछि सोमबार उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

शुरुमा भर्ना गर्दा प्रहरी जवान सरहको प्रति छाक ६० रुपैंयामा खाना खुवाउने भनेर भर्ना लिएको तर अहिले ९५ रुपैंया कटाइएपछि खानामा घोटाला भएको आशंकामा आवाज आन्दोलन गरेको म्यादी प्रहरीले बताएको छ ।

एक म्यादी जवानका अनुसार मंसिर १२ गते देखि ३ गते सम्म २० दिनको पारिश्रमिक बैंक खातामा पठाउँदा ३८ सय रुपैयाँ खाना खाएको रासन काटिएको थियो। ‘२० दिन ड्युटी गर्दा ४० छाक खाना खाएको रकम काटिदा चकित खायौं’ उनले भने । मंसिर १२ भन्दा अघिल्लो महिनाको अवधिमा भने गाउँका युनिट र निर्वाचन केन्द्रहरुको ड्युटीमा जाँदा उतै खाना खाएर रकम तिरेका कारण खाना खर्च बारे आफुहरुले ख्याल नगरेको उनले सुनाए।

‘६० रुपैंयामा जवानलाई तरकारी सहितको खाना दिइन्थ्यो’ एक म्यादी प्रहरीले भने, ‘तर हामीलाई स्कुसको तरकारीको झोल हालेर दिइँदा पनि ९५ रुपैयाँ लिइदो रहेछ।’

७ सय ५५ जना म्यादी प्रहरीलाई प्रहरी जवान भन्दा प्रति छाक ३५ रुपैयाँ बढी दैनिक दुई छाकका दरले ५५ दिन खाना खुवाउँदा २९ लाख रुपैयाँ बढी देखिएको एक म्यादीले सुनाए। कोट मास्टर र जिल्ला प्रहरीका अधिकृतहरुको मिलेमतोमा म्यादी प्रहरीको रासनमा घोटाला भएको आशंका उनीहरुको छ।

सोमबार बिहानदेखि म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए। त्यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा एक दर्जन बढी घाईते भएका छन्। केहीको हात खुट्टामा गहिरो चोट लागेको छ।

यसैबीच जिल्ला प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले म्यादीहरुलाई रासनमा बढी रकम नलिइएको दाबी गरेका छन् । ‘उनीहरुले रासनबारे समस्या लिएर आएपछि मैले कोर्ट मास्टर र लेखाका कर्मचारीलाई बोलाएर सोध्दा म्यादीको जम्मा ७० रुपैयाँ प्रति छाकका दरले मात्र रकम काटिएको रहेछ’उनले भने, ‘तर उनीहरु भित्रै २० दिनको ३८ सय (प्रति छाक ९५ रुपैंया ) रकम काटिएको गलत सुचना फैलाएर आन्दोलन गरेको प्रहरी प्रमुखको दाबि छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *