विभिन्न विधामा बुङ्वाखाको पुरस्कार घोषणा

काठमाडौ – कार्तिक २६ गते बुङ्वाखा पुरस्कार छनोट उपसमितिको बैठकले विभिन्न व्याक्तीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णयहरू गरेको छ । बुङ्वाखा-विष्णु मकर बान्तावा राष्ट्रिय पुरस्कार- २०७४ देउमाइ नगरपालिका १ साविक चमैता इलामका सानङ्वा एवाइलाई प्रदान गरिने भएको हो । चमैतास्थित स्थानीय रुपमा बान्तावा भाषाको संरक्षार्थ पारुहाङ किरात बान्तावा भाषाको पाठशाला स्थापना गरी कक्षा सञ्चालन र सहजीकरण गरेवापत उनलाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरिएका हो । उनको किरात लिपि बान्तावा भाषामा वर्णमालाको रुपु नामक कृति पनि प्रकाशित छ । एवाइ शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् ।

पूर्व मुख्य अञ्चलाधीश मकर बहादुर बान्तावा र उनको श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उनीहरुको परिवारले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका हुन् । ताम्रापत्रसहित पुरस्कारको राशी रु ३५ हजार रुपैयाँ रहेको छ । पुरस्कार २०७० सालमा स्थापना भएको हो ।

बुङ्वाखा-पञ्चकुमारी सङ्गीत पुरस्कार २०७४ बान्तावा गायिका आभा मुकारुङलाई प्रदान गरिने भएको छ । अन्नपूर्ण ८ भोजपुरमा जन्मिएकी गायिका मुकारुङले हालसम्म करिब एक दर्जन जति बान्तावा भाषाका गीतहरू गाएकी छन् ।

कदरपत्रसहित यो पुरस्कारको राशी रु २० हजार रहेको छ । आमा पञ्चकुमारी राईको सम्मानमा दाजु-भाइद्वय गीतकार जीवन मुकारुङ र गायक अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका हुन् ।

बुङ्वाखा-रनमाया चेन्चेक्वा पुरस्कार २०७४ बुङ्वाखाको सुनसरी संवाददाता राजेन्द्र राईलाई प्रदान गरिने भएको छ । यसैगरी बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र उनको परिवारले आफ्नो बज्यै रनमाया राईको सम्झनामा स्थापना गर्न लागेको पुरस्कार अलग बहादुर सोङ्‌मेनलाई प्रदान गरिने भएको छ । आफ्ना भाइको अल्पायुमै स्वर्गारोहण भएकोमा दाजु टीकाराम बादिहाङ राईको पहलमा उनको परिवारले यो पुरस्कार स्थापना गरेको हो । रु ५ हजार राशीको यो पुरस्कार बुङ्वाखामा नियमित स्तम्भकारहरू मध्ये छनोट गरी पुरस्कृत गरिन लागिएको हो ।

बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार २०७४ बुङ्वाखाको तेह्रौं बान्तावा कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी क्रमशः रु १० हजार, रु ६ हजार र रु ४ हजार रहेको यो पुरस्कार श्यामराज दुब्देङहाङका जेठी छोरी मीना राई र भतिजी छोरी अञ्जना राईले बुबा र काकाको सम्झनामा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका हुन् ।

बुङ्वाखा सल्लाहकार जय सिवाहाङ, पुरस्कारको लागि स्थापित अक्षयकोषदाताका सदस्यहरू राजेन्द्र बान्तावा, चन्द्र कुमार हतुवाली, अशोक मुकारुङको निर्णयमा पुरस्कारको लागि उक्त व्याक्तित्वहरुलाई छनौट गरिएको हो । छनौट समितिमा बुङ्वाखाको तर्फबाट कार्यक्रम संयोजक र सम्पादक पदम राई, सह-सम्पादक निराजन राईको पनि उपस्थिति रहेको थियो ।

बुङ्वाखाको तेह्रौं वाषिर्कोत्सव तथा तेह्रौं बान्तावा कविता प्रतियोगिता आगामी पुस ८ गते मोरङको उर्लावारीमा हुने भएको छ । माथि उल्लेखित पुरस्कारहरू सोही दिन अर्पण गरिनेछ । यसअघि मङ्‌सिर २४ गते कार्यक्रम हुने भनिएता पनि आगामी चुनावको कारण मिति सारिएको जनाईएको छ । त्यस्तै, कविता पठाउने समयसीमा पनि कार्तिक ३० बाट मङ्सिर १५ गतेसम्म बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *