व्याकुल माईला गोल्ड कप आजदेखि

ओखलढुङ्गा १९ असोज- राष्ट्र गानका रचनाकार व्याकुल माईला (प्रदिप कुमार राई) को नाममा संचालन हुने फुटबल गोल्डकपको सातौँ संस्करण बिहीबार सुरु हुँदै छ । मानेभन्ज्याङ गाउँपालिका ६ स्थित सोक्माटारमा हुने प्रतियोगितामा विभिन्न जिल्लाका २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता नकआउटका आधारमा हुने आयोजकले जनाएको छ ।

विक्रम संवत २०६८ सालदेखि निरन्तर आयोजना हुदै आएको प्रतियोगितामा यसपालिको विजेताले चाँदीको कपसहित एक लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछ । तेस्रो स्थान प्राप्त गर्नेले २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

गोल्डकपकै सिलसिलामा असोज २६ र २७ गते नि:शुल्क स्वास्थ्य शिविर (दाँत र जनरल हेल्थ चेकअप तथा उपचार) संचालन गरिने र यस वर्ष ‘रूपा स्मृति कप’ को रूपमा ‘गर्ल्स च्याम्पियनशिप’ खेल पनि गरिने आयोजकले जनाएको छ । यस कपको नगद पुरस्कार रु. २५ हजार रहेको छ ।

‘समुद्घाटन समारोह’ र ‘पुरस्कार वितरण तथा समापन समारोह’ मा हराउँदै गएको सालमाया, सरुमा, अधिया, खियाली, राम्दले, साकेला आदि लोकभाका एवं लोकनाचहरू स्थानीय लोकसंस्कृतिकर्मीहरूबाट प्रस्तुत गरिने भएको छ । स्थानीय बालकलाकारहरूले घाटु, मारुनी, समला, राष्ट्रिय भावनाका गीतमा वृहद् सामूहिक नृत्य, नेवारी नृत्य आदि प्रस्तुत गरिनेछन् ।

त्यसैगरी चलचित्र ‘कान्छी नानी’ (असोज २६ र २७ गते साँझ) र सांस्कृतिक विषयवस्तुका कथानक चलचित्र ‘यारी’ (असोज १९ र २५ गते साँझ) प्रदर्शन गरिनेछ । यसबाट उठेको केही अंश रकमबाट स्थानीय लोकसंस्कृतिकर्मी तथा बालकलाकारहरूलाई सांस्कृतिक पोशाक खरिद गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *