समानुपातिकको मतपत्र छापी सकियो, प्रत्यक्षको आजै बाट छाप्न सुरु

काठमाडौ १० कातिक- प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताएका छन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आज आयोजित निर्वाचन र सुरक्षा विषयक दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्दै यादवले भने “समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ, आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु हुने छ ।
निर्वाचनका बारेमा आलोचना, प्रतिआलोचना र अनुमानको कुरा आइरहेकोछ, निर्वाचनको वातावरण अस्थिर तुल्याउने काम कही कतैबाट नहोस्, निर्धारित समयमै निर्वाचन गर्न हामी प्रतिबद्ध छौँ ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्धारित मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम शुरु भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम पूरा भएको, दोस्रोचरणको लागि समेत निर्वाचन अधिकृतको कार्यालय खोलिसकिएको हुँदा विश्वासका साथ निर्वाचन सञ्चालन गर्न आयोग अघि बढेकाले अन्यौलको वातावरण नरहेको स्पष्ट पारेका छन् ।

अदालतको पछिल्लो आदेश औपचारिकरूपमा आयोगमा प्राप्त भइनसकेको बताउदै, पहिलो चरणको उम्मेदवारी मनोनयनका सिलसिलामा राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सराहनीय रहेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका समयमा हुनसक्ने लोभ, लालच, डर-धम्की जस्ता क्रियाकलाप रोक्न तथा आचारसहिताको पालना गर्ने विषयमा सुरक्षाकर्मीलाई व्यवसायिक मर्यादाभित्र रहेर काम गर्न समेत निर्देशन दिएका छन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचारप्रसारको क्रममा छिमेकी मूलुकबाट उम्मेदवारले भाडामा सवारी साधन ल्याई प्रयोग गर्ने कार्य पूर्णरूपमा नियन्त्रण गर्न निर्देशन दिँदै आयुक्त शाहले भन्नुभयो– ‘‘निर्वाचनको क्रममा कुनै पनि सुरक्षाकर्मीप्रति औंला ठड्याउने अवस्था नआओस्, आ–आफ्नो उच्च व्यावसायिक मर्यादामा रहेर राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस् ।’’

प्रशिक्षणमा रक्षा तथा गृहमन्त्रालयका अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सहित ६३ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *