सर्वोच्चलाई आज जवाफ पठाउने

काठमाडौ १३ कातिक- निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ अलग–अलग मतपत्र छाप्ने विषयको विवरण खुलाई सर्वोच्च अदालतमा आज जवाफ पठाउने भएको छ । सर्वोच्च अदालतले तोकेकै मितिमा निर्वाचन आयोगले जवाफ पठाउन लागेको हो ।

निर्वाचन आयोगका अनुसार मतपत्रबारे आयोगको आइतबारको बैठकमा छलफल भएको थियो । छलफलमा सर्वोच्चको आदेश अनुसार प्रत्यक्षतर्फ दुईवटा मतपत्र छाप्न समय र आर्थिक भार बढे पनि आयोग त्यसबाटपछि नहट्ने निर्णयमा पुगेको थियो ।

सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाका लागि अलग–अलग मतपत्र बाध्यकारी भएको भन्दै यसको छपाईमा के कति प्रगति भएको छ ? तीन दिनभित्र लिखित जवाफ पेश गर्न आयोगलाई बुधबार पत्राचार गरेको थियो । आयोगले प्रत्यक्षतर्फ एउटै पानाको माथिल्लो खण्डमा प्रतिनिधिसभा सदस्यका लागि र तल्लो खण्डमा प्रदेशसभा सदस्यका लागि मतदान गर्नु पर्ने गरी मतपत्र छाप्ने तयारी गरेको थियो ।

सर्वोच्चको पछिल्लो आदेशपछि आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक मतपत्र छाप्ने निर्णय परिवर्तन गर्दै छुट्टाछुट्टै मतपत्र छाप्ने आन्तरिक तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *