साहित्यिक सार्कको पहिलो सम्मेलन चीनमा हुँदै

काठमाडौँ, १८ कार्तिक – नेपाल प्रज्ञा–प्रतिष्ठानले दक्षिण एसियाली मुलुकका राज्य सञ्चालित समान प्रकृतिका प्रज्ञा–प्रतिष्ठानहरूसँग संस्थागत सम्बन्ध स्थापना गरी नियमित रूपमा प्राज्ञिक आदान–प्रदान गरिरहेको छ । यसै परिप्रेक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानकै प्रस्ताव र चीन तथा सार्क क्षेत्रका समकक्षी प्रज्ञा–प्रतिष्ठानहरूको सहमतिमा क्षेत्रीय रूपमा बहुपक्षीय महत्वका प्राज्ञिक विषयमा सहकार्य गर्न दुई वर्षअघि ‘चीन तथा दक्षिण एसिया साहित्य सभा’ (-China and South Asia Literature Forum_ स्थापना भएको थियो ।

मित्र राष्ट्र चीन, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका समकक्षी प्रतिष्ठानहरू एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत संस्थापक रहेको यो साहित्यिक निकायले क्षेत्रीय रूपमा साहित्य, संस्कृति, भाषा र वाङ्मयका सबै विधाको उन्नयनका लागि महत्वपूर्ण काम गर्ने उद्देश्य लिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका अनुसार यिनै उद्देश्य पूरा गर्नका लागि साहित्यिक सार्कको रूपमा ‘चीन तथा दक्षिण एसिया साहित्य सभा’ दुई वर्षअघि गठन गरिएको थियोे ।

र, यसैअनुरूप सभाको पहिलो सम्मेलन यही २०१७ को नोभेम्बर ५ देखि ९ तारिखसम्म चीनमा आयोजना हुँदैछ । उक्त सम्मेलनमा संस्थापक सबै राष्ट्रका प्रज्ञा–प्रतिष्ठानहरूको सभगागिता रहने सम्मेलन आयोजक राष्ट्र चीनको चिनियाँ लेखक सङ्घले जनाएको नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्य एवम् सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिनु भएको छ ।

‘अ लिटरेरी न्यु सिल्क रोड अफ वेल्ट एन्ड रोड’को अवधारणासहित आयोजना हुने सम्मेलनमा नेपालबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र प्राज्ञसभा सदस्य यज्ञराज प्रसाईं सहभागी हुन आज चीनतर्फ प्रस्थान गर्नुहुँदैछ । सम्मेलनमा नेपालका तर्फबाट कुलपति उप्रेतीले ‘इन्डिभिजुवालिटी इन लिटरेरी क्रियसन इन द कन्टेक्स्ट अफ ग्लोबलाइजेसन’ र प्रसाईंले ‘कल्चरल डेभलपमेन्टः इनहेयरिटिङ एन्ड व्लेन्डिङ’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने कुलपतिले अर्को सत्रमा नेपाली साहित्यको परिचयसहित विशेष प्रवचन दिनुहुने कार्यक्रम रहेको छ ।

उक्त सम्मेलनले चीन तथा दक्षिण एसियाली राष्ट्रका प्रज्ञा–प्रतिष्ठानहरूबीच साहित्य, संस्कृति, भाषा र वाङ्मयको विमर्श र आदान–प्रदानबाट आपसी सम्बन्ध सुमधुर बन्नुका साथै सम्बन्धित क्षेत्रका साहित्य, संस्कृति, भाषा र वाङ्मयका समस्त विधाको उन्नयनमा उल्लेखनीय उपलब्धि हासिल हुनेमा कुलपति उप्रेतीले विश्वास व्यक्त गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *