५९ घरगोट नष्ट, २२ बाख्रा जले, एक जना घाईते

agalagiकपिलवस्तु २ बैशाख, कपिलवस्तुको शिवराज नगरपालिका १०, सितलापुरमा बुधबार दिउँसो साढे ११ बजे आगलागी हुँदा ५९ घरगोठ जलेर खरानीमा परिणत भएको थियो । आगलागीबाट स्थानीय ५५ वर्षे सिताराम लोनिया सामान्य घाइते भएका छन् भने आगलागीबाट २२ गोटा बाख्रा जलेर मरेका थिए  । स्थानीय मन्नान मियाको घरबाट आगलागी भएको हो । खाना पकाएर आगो ननिभाएकाले अत्यधिक तिब्र गतिमा चलेको हावाहुरीले खरको झुपडीमा आगो सल्किएको स्थानीयले बताएका छन् । मन्नान मियाको घर पूर्वपश्चिम बाटोको दक्षिणी टोलको पूर्वपट्टि पर्छ । पूर्वबाट पश्चिमतर्फ चलेको हावाहुरीले बाटोको दक्षिणपट्टि मन्नान मियाको घरको पश्चिमतर्फको सम्पूर्ण घर जलेर नष्ट भएको छ ।

आगलागीबाट भर्खरै भित्र्याएको अन्नबाली गहुँ, मसुरो, अरहर तथा धान, चामल जस्ता खाद्यान्न सम्पूर्ण जलेर खरानी भएको छ । यस्तै लत्ताकपडा, भाँडाकुँडा, काठपात, रुपैयाँपैसा, गरगहना समेत जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । आगलागीबाट बसिर मियाको १३ गोटा बाख्रा, सत्यनारायण चमारका ४, मंसुर मियाका ३ र मन्नान मियाका २ गोटा बाख्रा जलेर मरेको भट्टराईले बताउनुभयो ।

तौलिहवा र कृष्णनगरबाट आएको दमकल, वडाप्रहरी कार्यालय चन्द्रौटाको टोली, महराजगञ्जको सशस्त्र टोली, स्थानीय बासिन्दा लगायतको सक्रियतामा आगो दिउसो ३ बजे नियन्त्रणमा आएको प्रहरी निरीक्षक भट्टराईले बताए ।

आगलागी भएको एक घण्टापछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक भोजजंग शाह समेतको टोलीले स्थलगत अनुगमन, निरीक्षण गरेका थिए । आगो नियन्त्रणसँगै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्ला दैबी प्रकोप राहत कोषबाट पीडित परिवारलाई तत्काल जनही ५ हजारका दरले नगद रकम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *