साउदी अरेबियाबाट राजीनामा घोषणा गरेका लेबननका प्रधानमन्त्री हरिरि बेरुत पुगे

एजेन्सी – साउदी अरेबियाबाट दुई हप्ताअघि राजीनामा घोषणा गरेका लेबननका प्रधानमन्त्री साद हरिरि राजधानी बेरुत पुगेका छन्। बेरुत अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लिएपछि हरिरिलाई सुरक्षा फौजका सदस्यहरुले स्वागत गरेका थिए।
रियाद भ्रमणका क्रममा हरिरिले राजीनामा घोषणा गरेपछि लेबननमा राजनीतिक संकट निम्तिएको थियो। हरिरिले इरानसँगको क्षेत्रीय शक्ति संघर्षको एउटा पाटोको रुपमा साउदी अरेबियाले आफूलाई राजीनामा दिन बाध्य पारेको भन्ने अड्कलबाजी अस्वीकार गर्दै आएका छन्।

यता लेबननका राष्ट्रपति मिशेल अनले व्यक्तिगत रुपमा हरिरि उपस्थित नहुञ्जेल उनको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन्। गत शनिवार हिरिरि पेरिस पुगेका थिए जहाँ उनले फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोंसँग भेटवार्ता गरे।
माक्रोंले लेबननको गतिरोध अन्त्यको निकास खोज्नका निम्ति मध्यस्थता गर्ने प्रयास गर्दै आएका छन्। फ्रान्समा रहेका बेला हरिरिले देशमा बुधवार मनाइने स्वतन्त्रता समारोहमा सहभागी हुन स्वदेश फर्कने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *